काठमाडौँ: निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले रु ४० लाखभन्दा बढी लगानी गरेर उक्त प्रणाली जडान गर्न लागेको हो । सो प्रणाली जडानका लागि अत्यावश्यक उपकरण केही आइसकेको र केही आउने क्रममा छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा मौसम विज्ञान विभागले त्यसका लागि आवश्यक तयारी गरेको हो । विभागका महानिर्देशक ऋषिराम शर्माले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडानका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।
गौतमबुद्ध विमानस्थल आगामी दश महिनाभित्र सञ्चालनमा आउने भएपछि विभागले पनि मौसमी सूचना प्रणाली स्थापना गरी हवाई यातायातलाई थप सुरक्षित र भरपर्दो बनाउने प्रयास गरेको हो ।
नेपालमा विगतमा भएका हवाई दुर्घटनामध्ये करीब ९० प्रतिशत मौसमकै कारण हुने भएकाले त्यसलाई पनि हटाउन लागिएको हो । महानिर्देशक शर्माले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको त्यस्तो सूचना प्रणालीलाई गौतमबुद्ध विमानस्थलमा जडान गर्न लागिएको जानकारी दिनुभयो ।
सो विमानस्थलमा पनि मौसमी सूचना संकलन, विश्लेषण गर्ने जनशक्ति र आवश्यक उपकरण जरुरी पर्दछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ३७ कर्मचारी कार्यरत छन् । विभागले गौतमबुद्ध विमानस्थलका लागिसमेत २० कर्मचारी आवश्यक रहेको भन्दै प्रक्रिया शुरु गरेको छ ।
“एक वर्ष भित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारीमा छ, सो अगावै हामीले उपकरण, जनशक्ति उपलब्ध गराएर हवाई मौसमी सूचना संकलन शुरु गरिहाल्नुपर्नेछ, त्यसको तयारीमा हामी लागेका छाँै”, महानिर्देशक शर्माले भन्नुभयो ।



