काठमाडौं । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । बायोमास ओभलमा भएको खेलमा आयोजक मलेसियालाई ४५ रनमै अलाउट गरेको नेपालले ५.३ ओभर खेल्दै २ विकेट गुमाएर जित हासिल गरेको हो ।
नेपालका लागि सुरुवाती व्याट्सम्यान अनिल कुमार साहले अविजित २६ रन बनाए । उनले ३ छक्का र एक चौकाको मद्दतमा सर्वाधिक रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरीले ३ बलमा १२ रन जोडे । दोस्रो विकेटका लागि मोहम्मद आसिफ शेखले १४ बलमा ४ रन बनाए । यो जितले नेपाललाई सेमिफाइनल सम्भावनामा राखेपनि भारत र बंगलादेशबीचको खेलले निर्धाण गर्ने छ । भारतले बंगलादेशलाई हराएका खण्डमा मात्रै नेपालको सम्भावना रहनेछ ।
पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १५ ओभर ३ बलमा मात्रै ४५ रन बनाउँदा अलआउट गरेको थियो । वर्षाले प्रभावित भएपछि खेल २४ ओभरमा झारिएको थियो । मलेसियालाई कम रनमा आउट गराउने क्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र बाहब आलमले समान दुई दुई विकेट लिए ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् ।
यस अघि आइतबार भारतलाई हराएको नेपाललाई सेमिफाइनलमा पुग्न योको खेलमा मलेसियालाई फराकिलो अन्तरले हराउनुु पर्नेछ ।
भारत र बंगलादेशबिचको खेलको परिणामले पनि नेपालको सेमिफाइनलमा पुग्ने भाग्य निर्धारण गर्नेछ । यो खेलमा बंगलादेश विजयी भएको खण्डमा नेपाललाई सहज हुनेछ । भारत विजयी भएको खण्डमा तीन टोलीको समान ४–४ अंक हुनेछ । यस्तोमा नेट रन रेटको आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।



