राजनीति

६ नम्बर प्रदेशमा लोकतान्त्रिक गठबन्धनको सरकार बन्छ : जीवनबहादुर शाही, नेता नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांगे्रसका नेता जीवनबहादुर शाहीले ६ नम्बर प्रदेशमा नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । मंगलबार विहान जनता मिडिया नेटवर्कका लागि सञ्जीव अधिकारीसँग कुरा गर्दै शाहीले ६ नम्बर प्रदेशलाई कर्णाली प्रदेश नामाकरण गरिने र उक्त प्रदेशमा लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने दाबी शाहीले गरेका हुन् । वाम गठबन्धनसँग चुनावी टक्कर कडा भए पनि नेपाली कांगे्रसलाई माया गर्ने मानिस ६ नम्बर प्रदेशमा प्रशस्त भएकाले लोकतान्त्रिक गठबन्धनको जीत लगभग सुनिश्चित भएको शाहीले बताए ।
तीनपटक नेपाली कांगे्रसको केन्द्रीय सदस्य भइसकेका, पर्यटन तथा सांस्कृतिक मन्त्री भइसकेका जीवनबहादुर शाही हुम्ला (ख) बाट प्रदेश सभाको उम्मेदवार बनेका छन् । पार्टीका शीर्ष नेता भएर पनि प्रदेशमा चुनाव लड्न नेपाली कांगे्रसबाट सम्भवत शाही पहिलो हुन् । ६ नम्बर प्रदेशमा मुख्यमन्त्रीका रुपमा शाहीलाई नेपाली कांगे्रसले अगाडि सारेको बताइन्छ । मुख्यमन्त्री बन्न पहिले प्रदेशसभाको चुनाव जित्नु आवश्यक छ । के शाहीले वाम गठबन्धनलाई चुनौति दिँदै प्रदेशसभामा निर्वाचित होलान् ? यिनै विषयमा गरिएको कुराकानी यस्तो छ–

० तपाईं प्रदेश प्रमुखको दौडमा हो ?
– पहिला आफ्नो क्षेत्रबाट चुनाव जित्नुपर्छ, त्यसपछि प्रदेशप्रमुख होइन, मुख्यमन्त्रीको रुपमा म अगाडि आउँछु ।

० चुनाव जित्नुहुन्छ ?
– नेपाल संघीयतामा गइसकेपछि संघलाई बलियो बनाउनुपर्छ भन्ने कुरा केन्द्रीय नेताहरुले नरुचाएको जस्तो देखिन्छ । मेरो पार्टीमा पनि म प्रतिनिधिसभाको सदस्य हुनुपर्ने मान्छे हुँ भनेर धेरैले रुचि देखाउनु भएन । म तेस्रो पटक नेपाली कांगे्रसको केन्द्रीय सदस्य भएको, मन्त्री पनि भइसकेको भएता पनि मैले के सोचे भने नेपालमा संघीयता फ्लप भएर जान्छ होइन भने, केन्द्रिकृत राज्यप्रणाली गर्दा हाम्रो देशको विकास भएन, त्यसकारण हामी संघीयतामा गइयौं, सातवटा प्रदेश बनाएका छौं । यदि हामी अहिले प्रदेशमा गएनौं भनेदेखि देशको विकास कसरी हुन्छ, संघीयता बलियो कसरी हुन्छ ? भन्ने दृष्टिकोणले मैले प्रदेश रोजेको हो ।
प्रतिनिधिसभाको टिकट नपाएर प्रदेशमा जाने एकखालका साथीहरु छन्, प्रदेशमा चुनाव लड्दा धेरै सिनियर नेताहरु आफ्नो मानमर्दन ठान्छन् । तर कर्णालीबाट जीवनबहादुर शाही प्रदेशसभामा गयो भन्ने कुरा आइसकेपछि अरु पार्टीका सिनियर नेताहरु प्रदेशसभामा आउन सुरु गरे ।

० गाह्रो सारो के छ ?
– मलाई मेरो पार्टीले मुख्यमन्त्रीका रुपमा अघि सारिसकेपछि यो प्रदेश जसको सबैभन्दा ठूलो भूगोल छ र अहिले जनसंख्या कम छ । १० जिल्ला छन् सबै ठाउँ जानुपर्ने अवस्था हो, तर म यस्तो जिल्लामा जन्मेको छु, जुन जिल्लामा मैले ३० मत माग्न तीन दिन हिड्नुपर्छ ।
वाम एकता भएको छ, अरु सबै एकातिर हुँदाहुँदै पनि जनताको माया ममता ममाथि छ । प्रतिनिधिसभा छोडेर प्रदेश बनाउन जीवनबहादुर आयो भन्ने छाप जनतामा परेको छ । यहाँबाट जितेर जाने भन्ने कुरो सुनिश्चित नै हो । तर प्रदेशभरिमा कसरी जान्छ भन्ने कुरा महत्वपूर्ण छ, राम्रो गर्ने मेरो प्रयास जारी छ ।
वाम एकता भए पनि ६ नम्बर प्रदेशमा नेपाली कांगे्रसलाई माया गर्ने मानिसको कमी छैन । वाम एकतासँग हाम्रो प्रतिस्पर्धा हुन्छ । स्थानीय निर्वाचनमा हेरियो भने एक दुई स्थानको तलमाथि मात्र छ, त्यस हिसाबले प्रदेशसभामा हामी सरकार बनाउन सफल हुनेछौं । ठूलो भूगोल, थोरै जनसंख्या र अथाहा प्राकृतिक स्रोत भएको यो प्रदेश हामी कर्णाली प्रदेश राख्नेछौं, जुन आजसम्म हेपिएको छ । तर यो प्रदेशको समृद्धिका लागि प्रतिनिधिसभा छोडेर लागेको छु ।
बाँकी अडियोमा सुन्नुहोस्

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *