चितवन: चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । मृतकको अझै सनाखत हुन नसकेको बताइएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपक श्रेष्ठले बताउनुभयो । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस आज विहान करिब सवाँ ९ बजे त्रिशुली नदीमा खसेको थियो । बसको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
विपरीत दिशाबाट आउँदै गरेको ट्रकसित ठोक्किँदा बस त्रिशुलीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
बस काठमाडौंबाट २६ जना यात्रुको चलानी लिएर हिँडे पनि बीच बाटोमा कति यात्रु चढे भन्ने खुल्न सकेको छैन । जनपद, सशस्त्र प्रहरी तथा नेपाली सेना उद्दारमा खटिएका छन् ।



