मतपत्र विवादले आसन्न निर्वाचन रोकिन्छ कि भनेर आशंक गर्नु गलत भएको अधिकारकर्मी कपिल श्रेष्ठले बताएका छन् । राजनीतिक दलका शीर्ष नेताहरु कागले कान लाग्यो भनेर कागको पछि दौडिदा यस्तो अवस्था सिर्जना भएको उनले बताए । नेपाली जनतालाई राजनीतिको सही शिक्षा र संस्कार नदिइँदा सर्वसधारणमा निर्वाचन हुँदैन कि भन्ने संशय उत्पन्न भएको तर्क अधिकारकर्मी श्रेष्ठको छ । के हो त मतपत्र विवाद, यसले सर्वसाधारणमा कस्तो प्रभाव पा¥यो भन्ने विषयमा जनता मिडिया नेटवर्कका लागि श्रेष्ठसँग सहकर्मी सञ्जीव अधिकारीले गरेको कुराकानी
० मतपत्र विवादले चुनाव सर्छ ?
– नेपाली राजनीतिको यो निरर्थक विवाद किन आयो ? यस्ता निरर्थक विवादले हाम्रो समय खर्चिरहेको छ । हाम्रा राजनीतिक दलका शीर्ष नेताहरु कागले कान लाग्यो भनेर कागको पछि दौडिएको प्रवृत्ति देख्दा मलाई उदेक लाग्छ । यी नेताहरुले जनतालाई सही राजनीतिक संस्कार र चेतना दिन सकेका छैनन् । एउटा न्यायाधीशले सानो प्रश्न उठायो भन्दैमा तीललाई पहाड बनाउनु हुँदैन । यसलाई किन ठूलो समस्या बनाउन खोजियो मैले बुझेको छैन ।
यो मंसिरमा हुने निर्वाचन हो । यसलाई कसैले टार्न सक्दैन । मतपत्रको प्राविधिक विवाद हो, ठूलो कुरो होइन । राजनीतिक दलले अरु केही नपाएर यसैलाई पो मुद्दा बनाउन खोजेको हो कि ? तर यस्ता झिनामसिना कुराको नेपाली जनताले त्यत्ति चासो राख्दैनन् ।
० मतपत्र बेग्लाबेग्लै हुनु राम्रो होइन र ?
– स्थानीय तहको निर्वाचनमा २ नम्बर प्रदेशमा बद्दर मत एकदमै न्यून थियो । काठमाडौं र पहाडमा बद्दर मत धेरै भयो । शिक्षित मान्छे बढ्ता जान्ने, उपबुज्रुक भएर मत बद्दर भएको हो । निर्वाचन आयोगले समयमै सही शिक्षा दिन नसकेकोले पनि मत धेरै बद्दर भएको हो ।
मतपत्र दुईवटा भयो भन्दैमा बद्दर मत कम हुन्छ भन्ने ग्यारेन्टी के छ ? एउटा भागमा प्रत्यक्ष र अर्को भागमा समानुपाति उम्मेदवारको चुनाव चिन्ह छुटाउन नेपाली जनताले सक्छन् । त्यसकारण यो ठूलो चिन्ताको विषय होइन ।
बाँकी अडियो सुन्नुहोस् ।


