
काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाएको भएको छ । यससँगै भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ ।
पत्रकार सम्मेलन गरेर सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो । आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिने सेनाका प्रवक्ता गोकुल भण्डारीले जनता मिडियालाई बताउनुभयो ।
लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
तर, भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राख्यो । शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो ।
अध्ययनका क्रममा डीपीआर पूर्ण नपाइएको र प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि सेनाले आफैं बनाउने निर्णय लिएको हो । भारतीय कम्पनीले मागेको मूल्य भन्दा कम रकममा नै नयाँ डीपीआर तयार हुने सेनाले बताएको छ ।
मूल्य मात्र नभई भारतीयकम्पनीले बनाएको डीपीआर हुबहू कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको सेनाले बताएको छ ।



