heading first राजनीति

होस गुमाएको यो सरकारले पूर्वी पहाडी जनताको अपमान ग¥यो

राजेन्द्र राई, सांसद नेकपा एमाले
जनमत र होस गुमाएको सरकारले पूर्वी पहाडका जनतालाई अपमान गरेको आरोप धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राईले लगाएका छन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । १ नम्बर प्रदेशमा रहेका १४ जिल्लाको केन्द्रविन्दू धनकुटा हुँदा हुँदै विराटनगरलाई मुकाम तोकेर यो सरकारले होस गुमाएको कथन सांसद राईको छ । धनकुटाको आन्दोलन सामान्य पार्न कर्फयु लगाइएको छ । आन्दोलन किन भनेर जनता मिडिया नेटवर्कका लागि राज ढुंगानाले सांसद राईलाई सोधेका थिए । कुराकानीको अशं

० मुकामको विषयलाई लिएर आन्दोलन किन ?
– मुलुक संघीयतामा गइसकेपछि सातवटा प्रदेश बन्यो । त्यसमध्ये १ नम्बर प्रदेशमा धनकुटा पर्दछ । पहिलादेखि नै क्षेत्रीय प्रशासनिक काम धनकुटाबाट हुँदै आएको थियो । १ नम्बर प्रदेशमा १४ वटा जिल्ला छन्, सबै जिल्लालाई उपयुक्त स्थान भनेको धनकुटा हो । भौतिक संरचना, भौगोलिक, हावापानी र केन्द्रका हिसाबले धनकुटा उपयुक्त हो । त्यसैले काम चलाउ राजधानी धनकुटालाई तोक्न हामीले सरकारलाई आग्रह ग-यौं । तर जनमत गुमाइसकेको सरकारले होस गुमाएर पहाडका जनतालाई बेवास्ता गर्दै विराटनगरलाई १ नम्बर प्रदेशको अस्थायी मुकाम तोक्यो । त्यसको विरुद्धमा धनकुटाका मात्र होइन पूर्वी पहाडका जनता आन्दोलित भएका छन् ।

० प्रदेशसभाले निर्णय गर्ने होइन राजधानी ?
– यो विषय सरकारले राम्रो बुझेको रहेनछ, संविधान राम्रो पढेको रहेनछ । पछि प्रदेशसभाले अनुमोदन गर्ने हो, तर काम चलाउ स्थान तोकिसकेपछि फेरि किन सार्नुप¥यो ? संघीयता भनेकै जनताको सरोकारका सवालहरु घरदैलोमा पुगोस् भन्ने हो । राजधानी विराटनगर पु¥याउनुको औचित्य यो सरकारले पुष्टि गरोस् ।
विराटनगर आफैमा एउटा औद्योगिक सहर हो, त्यहाँका जनताले सेवा सुविधा पाइरहेकै छन् । त्यही डिग्री क्याम्पस, अस्पताललगायत सबै पूर्वाधार छ । पहाडका जनतालाई यो सरकारले अपमान ग-यो ।

० विराटनगर कार्य सञ्चालनका लागि मात्र मुकाम तोकेको होइन ?
– कार्य सञ्चालन गर्ने स्थान धनकुटालाई तोकेको भए भइहाल्थ्यो नि । पहिलेदेखि नै यहीबाट कार्य सञ्चालन भइरहेकै हो । विराटनगर र सुनसरीमा सबै जनप्रतिनिधिलाई बोलाएर मुकाम तोक्नेबारे छलफल गरियो, तर धनकुटाका जनप्रतिनिधिसँग छलफल गरिएन । अध्ययन टोलीले काइते ढंगले विराटनगरलाई मुकाम तोक्न सिफारिस ग-यो । ताप्लेजुङ, सोलु र संखुवासभाको मान्छेले विराटनगर पुग्न सुगम छ कि धनकुटा तपाईंहरु आफै विचार गर्नुहोस् । त्यसकारण यो बेठीक निर्णय हो ।

० सबैलाई मुकाम चाहिने । संघीयता नै असफल हुँदैन ?
– यो सबै भ्रम हो, सामाजिक न्यायका आधारमा निर्णय गर्नुपर्छ । १४ वटा जिल्लाको केन्द्रविन्दू धनकुटा हो । पूर्वको केन्द्रविन्दू भएकाले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँनु पर्छ भन्ने माग स्वभाविक हो । राणा शासन, पञ्चायत, प्रजातन्त्रमा पनि धनकुटाले न्याय पायो, अहिले गणतन्त्रमा धनकुटे जनतालाई चोट पु-याउनु हुँदैन । यो निर्णय सरकारले फिर्ता लिनुपर्छ ।

० जनताको काम त वडामै हुन्छ नि होइन ?
– हामी मुलुकको आर्थिक समृद्धि चाहन्छौं, त्यसैले प्रशासनिक काम कहाँ गर्दा ठीक हुन्छ भन्ने कुरा राज्यले विवेक पु-याउनुपर्छ । बर्खामा बाडी आउने, मधेश आन्दोलन हुँदा जनता भाग्नुपर्ने, हिउँदामा हुस्सेले प्लेन नउड्ने ठाउँमा राजधानी सुहाउँछ ?

० प्रदेशको मुकामका लागि पनि जनता सहिद बन्नुपर्ने ?
– त्यस्तो होइन, हामी लोकतन्त्रमा विश्वास राख्ने मान्छेहरु हाम्रो आन्दोलन शान्तिपूर्ण ढंगले हुन्छ । शान्तिपूर्ण आन्दोलनलाई सरकार दबाउन खोज्यो । जनतालाई उत्तेजित बनाउने काम सरकारले गरेको छ ।
अन्तर्वार्ता अडियोमा सुन्नुहोस्

प्रतिक्रिया (Comments)

तपाईलाइ यो प्रतिक्रिया कस्तो लाग्यो कृपया आफ्नो मत खाख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *