काठमाडौं । निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको समय तोकेको छ । तर, दलहरुले हिजो राति अबेर पनि सबै उम्मेदवारको टुंगो लगाउन सकेनन् । आयोगले निर्वाचन कार्यतालिका अनुसार तयारी तीब्र पारेको छ । दलहरु उम्मेदवार छान्न आन्तरिक छलफलमा छन् । काँग्रेसले संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीसँग तालमेलका लागि छलफल गरेको छ । एमाले–माओवादीको गठबन्धनले ४३ सिट बाँडफाँड गरिसकेका छन् । एमालेले २९ र माओवादी केन्द्रले १४ सिट लिने सहमति भइसकेको छ ।
एमालेले राष्ट्रिय सभाका लागि तीन प्रदेशबाट उम्मेदवारी दिने १३ जनाको टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले प्रदेश नम्बर ५, ६ र ७ का लागि राष्ट्रिय सभाका उम्मेदवारहरुको टुङ्गो लगाएको हो।
एमाले–माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभा निर्वाचन सम्बन्धी बुझाएको प्रतिवेदन बैठकले अनुमोदन गरेको छ । प्रतिवेदन अनुसार वाम गठबन्धनका तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा एमाले २९ र माओवादीले १४ गरी ४३ जना उम्मेदवार उठाउने छ।
हरेक प्रदेशबाट एक जना दलित र एक जना अपाङ्गता भएको वा अल्पसंख्यक व्यक्ति तथा तीन जना महिला र तीन खुला सदस्य गरी आठ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ।
काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ ।
बैठकले प्रदेश ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), छत्रराज जोशी (अपाङ्ग) र सेरीराम पार्की (दलित) उम्मेदवार रहने निर्णय गरेको हो । अन्य प्रदेशका उम्मेदवार टुंगो लगाउनेबारे छनफल जारी रहेको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार दलित, अपाङ्ग वा अल्पसंख्यक संख्यकमा बहुमतीय र तीन महिला सदस्य र अन्य अर्थात् खुलामा एकल संक्रमणीय मत प्रणाली अपनाउने उल्लेख छ ।
माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोटका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मंगलबार उम्मेदवार छनोट गर्ने जिम्मा पाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भएको छ ।
नेकपा एमालेसँग संयुक्तरुपमा निर्वाचनमा जाने भएकाले माओवादी केन्द्रले १४ उम्मेदवारमात्र उठाउने भएको छ ।
प्रदेश इन्चार्जलाई एक उम्मेदवार छनोट गर्न तीनरतीनजनाको दरले सिफारिस गर्न दिइएको निर्देशनअनुसार हिजो सम्भाव्य उम्मेदवारको नाम प्राप्त भएको जानकारी दिँदै भुसालले आज उम्मेदवारको टुंगो लाग्ने बताउनु भयो ।
एमालेबाट २९ र माओवादी केन्द्रबाट १४ जना राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाइने सहमति दुईदलीय कार्यदलले गरेको छ । सोही आधारमा सबै वर्ग र क्षेत्र मिलाएर उम्मेदवार छनोट गरिने भुसालको भनाइ छ ।
पार्टीमा लामो समयदेखि योगदान गरेका, अवसर नपाएका, शहीद र बेपत्ता परिवारलाई पहिलो प्राथमिकतामा राखिने माओवादी केन्द्रले जनाएको छ ।
Mridaya.com – Online shopping in Nepal



