काठमाडौं । रुपन्देहीका गुण्डा नाइके मनोजबहादुर बूढामगर उर्फ मनोज पुनको भारतीय आपराधिक सञ्जालसँग ‘कनेक्सन’ रहेको खुलासा भएको छ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्या काण्डमा संलग्न रहेका पुन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनको संलग्नता रहेको खुलासा भएको हो ।
तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेको प्रहरी स्रोतको भनाइ छ । त्यसक्रममा दिल्लीको सुल्तान पुरीका गुण्डा नाइके जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएको र जोगिन्दरले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ ।


