डा. प्रमोद ढकाल, अभियान्ता खुलाविश्वविद्यालय
नियमित कलेज वा विद्यालय कक्षा जान नसक्नेले घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन् । पहिलो पटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरेर स्नातकदेखि पिएचडीसम्मको डिग्री दिने भएको हो । खुला विश्वविद्यालयको प्राज्ञिक परिषद्ले डिप्लोमान, पोष्ट ग्राजुएट, मास्टर्स, एमफिल्ड र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
खुला विश्वविद्यालयको प्रणालीमा गइसकेपछि सर्वसाधारणलाई के फाइदा हुन्छ ? के हो खुला विश्वविद्यालय भनेको ? यो सन्दर्भमा खुला विश्वविद्यालयका संस्थापक अभियान्ता एवम् एनआरएन एकेडेमी अध्यक्ष डा. प्रमोद ढकालसँग जनता मिडिया नेटवर्कका लागि चन्द्र धामीले गरेको कुराकानी–
० खुला विश्वविद्यालय नयाँ नाम हो ?
– यो नयाँ नाम होइन, विश्वव्यापी अभियान हो । सन् १९६९ मा बेलायतले पहिलो खुला विश्वविद्यालय बनाएको थियो । त्यसपछि अरु देशहरुले पनि बनाए । नेपालका छिमेकी राष्ट्रले पनि खुला विश्वविद्यालय बनाएका छन् । त्यस अर्थमा खुला विश्वविद्यालय नयाँ होइन । नेपालले बनाएको चाहिँ पहिलो पटक हो ।
० खुला विश्वविद्यालयलाई कसरी बुझ्ने ?
– बजारमा सुन्दा घरमा बसेर डिग्री लिने, विश्वविद्यालय नगइ डिग्री लिने हो भनिएको छ । तर हामीले सोचेको त्यस्तो थिएन । म पनि यो खुला विश्वविद्यालयको परिकल्पनाकार हुँ ।
ज्ञान चाहिँ विश्वविद्यालयले खुला गर्दैनन् । नेपाली जनतालाई देखाउँदैनन । त्यो ज्ञान सबैलाई देखाउने विश्वविद्यालय मात्र मैले कल्पना गरेको खुला विश्वविद्यालय हो । उदाहरणका लागि आज बुढानीलकण्ठमा पढाइएको गणित वा विज्ञान नेपालका कुनै पनि विद्यालयमा पढ्ने विद्यार्थीले हेर्न पाउँदैनन्, त्यो गोप्य छ । नेपालका कुनै पनि सार्वजनिक संस्थामा पैसा प्रयोग गरेर पढाइने ज्ञान नेपाली जनताले हेर्न पाउँदैनन ।
क्यान्सरका विरामीले क्यान्सरका बारेमा के पढाइ हुन्छ भन्ने कुरा उनीहरुले हेर्न पाउँदैनन । समाजले नै फैलाउन समाजले खर्च गरेको ज्ञान फैलिन पाउँदैन । यो परम्परालाई तोडेर सार्वजनिक पैसा उत्पादन भएको प्रत्येक ज्ञान सार्वजनिक बनाउनुपर्छ भन्ने सिद्धान्तलाई अंगिकार गरेर एउटा विश्वविद्यालय बनाउ भन्ने अभियानमा हामी लागेको हो ।
नेपाल सरकार र गैरआवासीय नेपाली संघको अभियान भनेर हामीले अघि बढाएको हौं । तर, खुला विश्वविद्यालय बनिसकेपछि नेपाल सरकारले एकलौटी रुपमा बनाउछु भन्यो । त्यसैले हामी त्यहाँ सहभागी छैनौं ।
पहिला हामीसँग साथमा नभएका साथीहरुले अभियान अघि बढाइरहनुभएको छ । हामीले र उहाँहरुले भनेको मर्म एउटै होजस्तो लाग्दैन । सरकारले भनेको खुला विश्वविद्यालय दूरशिक्षा हो । अर्थात् टाढा बसेर पढ्नुलाई उहाँहरुले खुला भनिरहनुभएको छ । जहाँ डिग्री नभए पनि पढेदेखि त्यो खुला भयो । ब्याचलर्स डिग्री पढ्नुभएको थियो पहिला, मास्टर्स डिग्री खुलाबाट पढ्नुभयो भने खुल्ला भएन । त्यही दुरशिक्षामा ब्याचर्ल डिग्री नगरी १०–१२ कक्षा पढेर मास्टर्स डिग्रीमा भर्ना हुनुभयो अथवा पिएचडीमा भर्ना हुनुभयो भने त्यो खुला भयो । पत्रिका पढ्दा मलाई त्यस्तो इप्रेसन भयो । के सत्य हो भने त्यहाँ बस्ने साथीहरुले जान्ने कुरा हो ।
यतिका धेरै विश्वविद्यालय भएर पनि ज्ञान नेपाली जनतालाई देखाइदिदैन । कृषि विश्वविद्यालयमा पढाइने ज्ञान नेपालका कृषकलाई देखाइदैन । यी विश्वविद्यालयहरुले पढाइ गोप्य राख्ने भएको हुनाले यो गोपनीयताको प्रथालाई तोडेर ज्ञान समाजमा फैलाउँछौं भन्ने उद्देश्यले हामीले यो खुला विश्वविद्यालयको अवधारणा ल्याएका हौं । यो उद्देश्यअनुरुप विश्वविद्यालय खुल्छ वा खुल्दैन भन्ने कुरा मलाई थाहा छैन ।
० तपाईंहरुले सोचेको र सरकारले कार्यान्वयनमा ल्याउने विश्वविद्यालय फरक हो ?
– मेरो विचारमा फरक हुन्छ होला । हामीले लेखेको स्वतःपत्र र वकिङ पेपर उनीहरुको वेभसाइटमा राखिएको छैन । स्थापना पूर्व नै हामीले नेपाल सरकारलाई ती कागज दिएका हौं । विश्वविद्यालय स्थापन गर्नका लागि बनाइएको कागजपत्र बोर्डले पारित गरेको थियो । ती कागजसमेत उसले सार्वजनिक गर्दैन् । यो अर्कै दिशामा हिडिरहेको होला भन्ने मेरो अनुमान । नेपालका सबै विश्वविद्यालय राजनीतिक दलहरुले आफै चलाउन हिडिरहेका त हैनन् ? पार्टीले जता भन्यो, त्यतै हिड्ने होला विश्वविद्यालय ।
अन्तर्वार्ता अडियोमा सुन्नुहोस्



