ईश्वरीप्रसाद भण्डारी, निर्देशक केन्द्रीय तथ्यांक विभाग
नेपालको प्रतिव्यक्ति वार्षिक आम्दानी १ हजार अमेरिकी डलर नाघेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुगेको छ । यो अमेरिकी डलरलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ हुन्छ । गतवर्षभन्दा १ सय ५ डलरले नेपालीको प्रतिव्यक्ति आय बढेको हो । यसै विषयमा केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीसँग जनता मिडिया नेटवर्कका लागि सञ्जीव अधिकारीले गरेको कुराकानी–
० प्रतिव्यक्ति आय मापन गर्ने आधार के हो ?
– यो कुरा सबैले बुझ्नुपर्छ । केन्द्रीय तथ्यांक विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) तय गर्दा अन्तर्राष्ट्रिय स्तरमा निर्धारण गरिएको सिस्टम नेशनल एकाउन्ट भन्ने निर्देशिकाको मेन्युअल आधारमा तयार गरिन्छ । सो मेन्युअलअनुसार देशमा उत्पादन हुने आर्थिक क्रियाकलापको माध्यमबाट सबै वस्तु तथा सेवाको आकलन गरिन्छ । त्यो वस्तु तथा सेवाको आकलनबाट कुल ग्रायस्थ उत्पादन कति भनेर हामी निकाल्छौं । कुल ग्राहस्थ उत्पादनमा जम्मा जनसंख्याले भाग गरिसकेपछि प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन आउँछ । प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन १ हजार ४ डलर भएको अवस्था छ ।
० वैदेशिक रोजगारीबाट भित्रिने आम्दानी सिस्टम अफ एकान्टमा अटाएको हुन्छ ?
– हुँदैन । वैदेशिक रोजगारीबाट हुने आम्दानी हामीले रेमिट्यान्सबाट प्राप्त हुन्छ । त्यो वैदेशिक आम्दानीलाई हामीले कूल ग्राहस्थ आम्दानीमा समावेश गर्दैनौं । तर कूल राष्ट्रिय आयमा हामी समावेश गछौं । खर्च गर्न योग्य आयमा समावेश हुन्छ, विदेशबाट आउने रेमिट्यान्स कूल ग्राहस्थ आम्दानीमा समावेश हुँदैन ।
० रेमिट्यान्सलाई पनि कूल ग्राहस्थ आम्दानीमा समावेश गर्दा नेपालीको प्रतिव्यक्ति आय बढ्ने देखिन्छ ?
– होइन, धेरै बढ्दैन, हामीले त्यो आम्दानीसमेत राखेर नेपालमा खर्चयोग्य पैसा कति छ भनेर निकालिसकेका छौं । १ हजार ४ डलर कूल ग्राहस्थ उत्पादन हो, कूल ग्राहस्थ उत्पादनमा हामी विदेशबाट आएको पैसा जोड्छौं । रेमिट्यान्स अथवा ऋण सहयोग पैसा सबै जोडिन्छ । नेपालबाट बाहिर गएको पैसा घटाउँछौं । त्यो घटाइसकेपछि कूल ग्राहस्थ खर्च गर्न योग्य पैसा नेशनल डिस्पोजेबल इनकम आउँछ । त्यो आम्दानीमा विदेशबाट आएको रेमिट्यान्स पनि पर्छ । ग्राहस्थ उत्पादन भनेको नेपाली सीमाभित्रको उत्पादन हो । त्यो उत्पादनमा बाहिरबाट आएको पैसा जोडिदैन ।
० आम नेपालको आय बढेको हो ?
– हो, कूल ग्राहस्थ उत्पादनमा वृद्धि भयो । यसको अर्थ देशभित्र आर्थिक क्रियाकलाप बढे, देशमा उत्पादन बढ्यो, त्यो उत्पादन वस्तुको पनि हुनसक्छ । कूल ग्राहस्थ उत्पादन बढ्नेवित्तिकै आय बढ्छ । गत वर्ष ७.३९ प्रतिशतले कूल ग्राहस्थ उत्पादन वृद्धि भएको थियो । अहिले ५.८९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि विगतमा भन्दा राम्रो हो । विगतमा हाम्रो वृद्धि ३ अथवा ४ प्रतिशतको बीचमा रहन्छ । पछिल्लो दुई वर्षमा कूल ग्राहस्थ उत्पादनमा राम्रो वृद्धि भयो । जसले गर्दा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १ हजार डलरभन्दा बढी पुग्न गयो ।
० कुन वर्गको कति कमाइ भनेर हिसाब हुन्छ ?
– राष्ट्रले वस्तु तथा सेवाको उत्पादन ग-यो भनेर विवरण लिन्छौं । कुन वर्गले कति ग-यो अथवा कुन वर्गले कति ग-यो भनेर हेर्नका लागि केन्द्रीय तथ्यांक विभागले नेपाली जीवनस्तर सर्भेक्षण गर्छ । जीवनस्तरको तथ्यांकको आधारमा कति गरिबी छ, गरिबीको रेखामा कति जनसंख्या छ भन्ने कुरा माइक्रो लेबलमा विश्लेषणात्मक सर्भे हेरिन्छ । यसमा चाहिँ वृहद रुपमा हेरिने भएकाले कुन समुदायको कस्तो अवस्था छ भनेर राष्ट्रिय लेखा तथ्यांकमा हेरिदैन ।
कुराकानी अडियोमा सुन्नुहोस्



