काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा पुष्पराज कँडेलले योजना आयोगले मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गर्ने बताउनुभएको छ ।
त्रिभुवन विश्वबिद्यालय केन्द्रीय व्यवस्थापन विभागद्वारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोगलाई समावेशी तरिकाले देशको विकास निर्माणमा अघि बढाउने गरी नीति र योजना बाँड्ने बताउनुभयो ।
सिंहदरबारमा बसेर योजना बनाउँदा स्थानीय समुदायको आर्थिक रुपान्तरण हुन नसकेको बताउँदै उहाँले अब ग्रामीण भेगमै पुगेर त्यहाँका स्थानीयबासीको मनोविज्ञान बुझ्ने र सम्भावनाको आधारमा नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले त्रिभुवन विश्वबिद्यालयबाट व्यवस्थापन विषयमा उच्च अध्ययन गरेका जनशक्तिलाई मुलुकमै कुशल व्यवस्थापनको खाँचो रहेको विचार व्यक्त गर्दै त्यसो गर्न सके मात्र देशको विकास हुने प्रष्ट पार्नुभयो ।
सोही विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा डा भोजराज अर्यालले विश्वविद्यालयको व्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।



