मीन विश्वकर्मा, केन्द्रीय सदस्य, पूर्वमन्त्री नेपाली कांग्रेस
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणसँग प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादको नाटकको पर्दा खुलेको नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा नेपाल र नेपालीको स्वाधिनता र स्वाभिमानमा आँच आउने काम भएको नेता विश्वकर्माले बताए । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद कृति आजादले मोदीको भ्रमणका बेला गरेको टुइट सर्वाधिक चर्चाको विषय रहेको बेला कांगे्रस नेता विश्वकर्मासँग जनता मिडियाका लागि राज ढुंगानाले गरेको कुराकानीको सम्पादित अंश–
० भारतीय सांसद कृति आजादको टुइटबारे कांगे्रसले किन ढिलो प्रतिक्र्रिया दियो ?
– बोल्न ढिलाइ होइन, नेपाली कांगे्रस पार्टी कुनै पनि कुरामा आत्तिएर वा उत्ताउलो भएर आफ्नो अभिव्यक्ति दिँदैन । नेपाली कांगे्रसको यो लामो इतिहास र परम्परा नै हो । हाम्रो पार्टी प्रधान विषयमा आफ्नो प्रतिक्रिया दिन्छ, प्रतिक्रिया मात्र होइन, आन्दोलनमा पनि उत्रन्छ । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला एउटा मात्र गल्ती देखिएको भए वा मोदी भ्रमणको मुख्य उद्देश्य तीर्थ यात्रा वा मित्रभाव वृद्धिका लागि मात्र भए सायद यत्तिका विधि राष्ट्रिय स्वाधिनता र स्वाभिमानमाथि आँच आउने खालका काम हुन्थेन ।
मोदीको भ्रमण २८ गते भयो, जनकपुरमै मोदीका अभिव्यक्ति आइरहेका बेला सत्तारुढ पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद कृति आजादले गरेको टुइट एउटा मात्रै घटना हो । तर, त्यो घटनालाई सरसर्ती हेर्ने हो भने त्यससँग अरु धेरै घटना जोडिएको छ ।
घटना भएको चार दिनपछि पार्टीका नेताहरुले अनौपचारिक छलफलपछि पे्रस विज्ञप्ति निकालेर भारत र नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो ।
० भारतीय प्रधानमन्त्री मोदीको भ्रमणकै दिन यस्तो टुइट आउनु संयोग मात्र हो ?
– पार्टीको धारणा पछि बन्ला, पार्टीको केन्द्रीय कमिटीको बैठक बसेपछि यसबारे आधिकारिक धारणा आउँछ । तर, समग्रमा साझा धारणा बनिसकेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी गर्दैगर्दा तपाईं चीन भ्रमण नजानुस्, म तपाईंकै देशमा आउँदैछ भनेर आमन्त्रण पनि आफ्नो इच्छा बमोजिम भएको छ । भ्रमणको मिति नेपालको परराष्ट्र मन्त्रालयले होइन, भारतको पत्रपत्रिकामा पहिला छापियो । त्यत्ति मात्र होइन, नेपालको अध्यागमन नभएको स्थानबाट मुलुकमा प्रवेश गर्नु अथवा मुलुकमा स्वागत गर्नुपर्ने बाध्यता आइलाग्नु, स्वागत समारोहमा भौतिक रुपमा देखिएको तामझाम, स्वागतकर्मीले भारतीय झन्डाको पोशाक बनाएर लगाउनु, जानकी मन्दिरको शिरमा भारतीय झन्डा राख्नु, नेपालको झन्डा बिगारिनु, सँगसँगै त्यहाँका मुख्यमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति, त्यत्ति मात्र होइन, भारतीय सांसदले नेपाल टुक्राउने अभिव्यक्ति दिनु, हाम्रो राष्ट्रिय अखण्डतामा धावा बोल्नु र नेपालका प्रधानमन्त्रीले त्यसलाई साथ दिँदै जानु, उस्तै खालको पोशाक लगाउनुलगायतका यावत विषयहरु विश्लेषण गर्ने हो भने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक, सद्भाव होइन, यो भ्रमण रणनीतिक हो भन्ने मेरो व्यक्तिगत धारणा हो ।
० भारतको स्वार्थअनुकूल भ्रमण हो भन्न खोज्नुभएको हो ?
– भारतको स्वार्थ मात्र होइन, नेपालको चीनप्रति जुन सन्तुलित परराष्ट्र नीति थियो, ओली प्रधानमन्त्री भइसकेपछि हामी धेरै पछाडि फर्किन बाध्य भयौं । २०५० सालमा नेपाली कांगे्रसको सरकारले अरुण तेस्रो योजना सम्पन्न गर्न विश्व बैंकसँग सम्झौता गरिसकेको थियो । तत्कालीन नेकपा एमाले पार्टीले यो राष्ट्रहित विपरित छ, अहिले बनाउनु हुँदैन, यो महँगो छ, यसरी बनाइयो भने राष्ट्रिय हित हुँदैन भन्दै विश्व बैंकलाई चिठी लेखेर, धम्क्याएर रद्दा गरायो । त्यसको २५ वर्षपछि त्यही आयोजना घुमाइफिराइ भारतलाई दियो । भारतसँग संयुक्त रुपमा शिलान्यास गरियो । विश्व बैंकजस्तो साझा संस्थालाई दिँदा राष्ट्रघात हुने, छिमेकीको पूरा स्वामित्वमा दिएर ९ सय मेगावट जलविद्युतमा १ सय ९० मेगावट मात्रै नेपालीले पाउने सम्झौता गरेर दिँदा राष्ट्रहित भयो भन्ने तर्क गर्नु ठूलो जालसाक्षी देखिन्छ ।
प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणमा कुनै पनि पत्रकारलाई प्रवेश दिइन् । धर्म भनेको कानुनजस्तो बहुमत र अल्पमतले संशोधन गरिने विषय होइन । मुक्तिनाथ उत्तरतर्फको सीमासँग सम्वेदनशील मानिन्छ, त्यहाँ भारतीय प्रधानमन्त्रीको प्रवेश वा उपस्थिति धार्मिक दृष्टिकोणबाट हुन्छ, तर त्यहाँबाट नेपाली टेलिभिजन, रेडियो र पत्रकारलाई प्रवेश गर्न दिँदैन र भारतीय पत्रकार र टेलिभिजनहरुलाई हाम्रो निषेधित क्षेत्रमा क्यामेरा राखेर लाइभ गर्न दिइन्छ । यो राष्ट्रिय अस्मितामाथि आक्रमण हो, धावा बोलेको हो ।
हामीले सार्क सम्मेलन ग-यौं, चीनलगायत अन्य विश्वका नेताको स्वागत ग-यौं, अतिथिलाई स्वागत सम्मान गर्ने हाम्रो आफ्नै संस्कार छ । तर भारतका प्रधानमन्त्री नेपाल आउँदा अध्यागमन नभएको ठाउँबाट आउने र बर्दिवाला हातहतियारसहितका सैयौंको संख्यामा सेना लिएर आउनु, ती सेनाले नेपाली सेना र प्रहरीलाई दोस्रो र तेस्रो घेरामा राखियो । त्यसभन्दा केही दिनअघि जनकपुरको गाउँ गाउँमा पसेर सर्च गरियो ।
यी सबै कुरा हेर्ने हो भने विगतमा केपी शर्मा ओलीले देखाउँदै आएको राष्ट्रवादको नाटकको पर्दा मोदी भ्रमणबाट उतारिएको छ ।
कुराकानी अडियोमा सुन्नुहोस् ।



